काठमाडौं । काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आइतबार (कात्तिक २२) दिउँसो करिब २ः२० बजे काठमाडौं महानगरपालिका–३, वसुन्धारास्थित सडकखण्डमा कारले ठक्कर दिँदा स्कुटरमा पछाडि सवार २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ)को मृत्यु भएको प्रहरीले जनाएको छ ।
नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ९७३६ नम्बरको उक्त कार धादिङ घर भई काठमाडौंको बालुवाटारमा बस्दै आएकी ४२ वर्षीया शान्ताकुमारी तामाङले चलाएकी थिइन् । कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उक्त स्कुटर दोलखा घर भई काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका २४ वर्षीय सोमबहादुर धामीले चलाएका थिए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट ङबुदि घाइते भएकी थिइन् । तत्काल उनलाई उपचारका निम्ति वसुन्धारास्थित ग्रीन सिटी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दिउँसो १५ः१७ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।