काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ रूपैयाँ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो ।
परिषद्ले ठमेलमा आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्को क्षणमा ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले पीडितका लागि गरेको सहयोगको उच्च प्रशंसा गरे ।
परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले परिषद्ले उक्त रकम सहयोग गरेको जानकारी दिए ।
पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रहँदै आएको परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको अवस्थामा परिषद्ले रसुवामा पुगेर रु २५ लाख बराबरको खाद्यान्न, भाडाकुँडा र लत्ताकपडा वितरण गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।
परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको बताएको छ ।