काठमाडौं । तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र 'तिलस्मी'को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकारहरू जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन् । तीन पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतूहल सिर्जना गर्ने संकेत गरेको छ ।
आगामी पुस २४ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन् । गीतकार समेत रहेकी उनको यो पहिलो चलचित्र निर्देशन हो । पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् । चलचित्रको संगीत सुमन केसी र किरण कँडेलले दिएका छन् ।
त्यस्तै, छायांकन बिनोद बल, ध्वनि डिजाइन अमित श्रेष्ठ, प्रमुख सहायक निर्देशक इलियास शेख, सहायक निर्देशक अनुजा अधिकारी, प्रोडक्सन म्यानेजर मनिष डीके र सुवास राई रहेका छन् । चलचित्रको ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् ।
पारिवारिक कथावस्तुमा आधारित चलचित्र 'तिलस्मी'मा राजीव समरको कोरियोग्राफी, राजेन्द्र मोक्क्तानको कलर संयोजन रहेको छ । प्रचार सामग्रीको डिजाइन टौवा क्रियसनले गरेको छ । चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन् ।