काठमाडौँ । तिहारको रौनकसँगै नेपाली मौलिक भैली तथा देउसी परम्परालाई सङ्गीतमार्फत नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले तयार पारिएको गीत 'तिहारै झिलिलि' सार्वजनिक भएको छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व दीपावलीको अवसरमा आएको यो गीत हेमराज डाँगी र अञ्जु विश्वकर्माको स्वरमा रेकर्ड गरिएको हो ।
गीतको शब्द अनिल खनालको र सङ्गीत हेमराज डाँगीको हो भने भिडियो निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन् ।
तिहारमा घरघर पुगेर भैली खेल्ने, देउसी गाउने र सांस्कृतिक प्रस्तुतिमार्फत शुभकामना आदानप्रदान गर्ने नेपाली परम्परालाई गीतमा समेटिएको छ । आधुनिक सङ्गीत र प्रस्तुतिको प्रभाव बढिरहेको समयमा मौलिक चाडपर्व र संस्कृतिलाई केन्द्रमा राखेर बनाइएको यो गीतले तिहारको परम्परागत रौनक सम्झाउने अपेक्षा गरिएको छ ।
भिडियोमा परम्परागत भैलीको वातावरण, चाडपर्वको उल्लास तथा नेपाली मौलिक पहिरन र सांस्कृतिक प्रस्तुति देख्न सकिन्छ । यसमा लोकेश बि.सी., प्रीति गुरुङ, अस्मिता बुढा मगर, पुष्प सेन्चुरी, आशिष ओली, बाद शाह, सुस्मिता खत्री, नारद बि.सी., जुनु रिमाल, नगेन्द्र चौलागाईं लगायतले नृत्य र अभिनय गरेका छन् ।
भिडियोको छायाङ्कन सरोज ठकुरीले, सम्पादन राजेश कुमारले र सहायक निर्देशन सुवास गौतमले गरेका हुन् ।