काठमाडौँ । काठमाडौं स्पोर्ट्स एकेडेमी र काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सम्पन्न केएसए काठमाडौं वडा कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि युवा खेलाडी सिएम पुरुषोत्तम सिलवालले जितेका छन्।
८ अंकसहित च्याम्पियन बनेका पुरुषोत्तमले नगद ५० हजार रुपैयाँ र ट्रफी पाएका छन्। फाइनल खेलमा उनले सुरज महर्जनसँग बराबरी खेले भने आठौं चरणमा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाललाई पराजित गरेका थिए।
रुपेश पनि ८ अंक जोडेर दोस्रो भए, तर ट्राइबेकरको आधारमा पुरुषोत्तमभन्दा पछाडि परे। उनले ३० हजार रुपैयाँ पुरस्कार पाए। नवौं चरणमा रुपेशले काठमाडौंका वरिष्ठ खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठलाई हराएका थिए।
७.५ अंकसहित ललितपुरका सुरज महर्जन तेस्रो भए र २० हजार रुपैयाँ जिते। दोलखाका आशिष फुयाल र सन्देश बरुवाल क्रमशः चौथो र पाँचौं स्थानमा रहे।
खोटाङका धिरेन राई, सुनसरीका मुहान नर्सिङ केसी, ललितपुरका राजन पुरी, काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठ र ललितपुरका अभिक शाह क्रमशः छैटौंदेखि दसौं स्थानमा रहे।
महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन
महिला वर्गको उपाधि मोरङकी शान्ति धिमालले जितिन्। काठमाडौंकी राधिका पौडेल दोस्रो र कुसुम घिसिङ तेस्रो भए। चौथोदेखि दसौं स्थानमा क्रमशः प्रज्ञापन्त, सोनालीका श्राफ, नेलिसा ओझा (काठमाडौं), त्रिसारा लामा (ललितपुर), इसिका श्रेष्ठ, एमसिका श्रेष्ठ र सुहानी सिंह रहे र उनीहरूले नगद पुरस्कार पाए।
अन्य विधामा विजेता
उत्कृष्ट लोकलतर्फ वडा नं. १६ का भेटरान खेलाडी जनार्दन श्रेष्ठ पहिलो र मोहम्मद इमरान खान दोस्रो भए। बेस्ट केएममा सिमा नविन तण्डुकार, भेटरानमा बद्रीलाल नेपाली पहिलो भए। सविन प्रकाश सैजंले प्रथम स्थान हासिल गरे।
युवा तर्फ १६ वर्ष मुनिको वर्गमा सुभमदिप थापा, १४ मा प्रबिर केसी, १२ मा हार्दिक पन्त र युवा राजन शाह उत्कृष्ट ठहरिए।
दुई दिनसम्म चलेको प्रतियोगितामा कुल २ लाख रुपैयाँ नगद पुरस्कार थियो। प्रतियोगितामा १२३ जना खेलाडीले सहभागिता जनाएका थिए।
काठमाडौं स्पोर्ट्स क्लबका अध्यक्ष नारायणदास गमालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे। राष्ट्रिय चेस प्रतियोगिताको अर्को संस्करण पनि निरन्तर हुने रोजिना श्रेष्ठले जानकारी दिएकी छन्।