नुवाकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले नुवाकोटस्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका बाढीप्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा हस्तान्तरण गरेको छ ।
भदौ १० गतेको भाेटेकाेशी बाढीले विद्यालयको भौतिक संरचना पूरै बगाएर बगरमा परिणत गरेको थियो । हाल विद्यालय अस्थायी टहरामा सञ्चालन भइरहेको छ। विद्यार्थीहरूले पठनपाठनमा सामना गरिरहेको कठिनाइलाई ध्यानमा राखेर संगठनले सामग्री उपलब्ध गराएको हो ।
कार्यक्रममा संगठनले कक्षा १० मा अध्ययनरत ८० जना विद्यार्थीलाई प्रत्यक्ष रूपमा शैक्षिक सामग्री वितरण गरेको छ। साथै, ब्यागसहितका बाँकी ४२० थान शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई हस्तान्तरण गरिएको छ ।
संगठनका अध्यक्ष दिपक धामीले प्रधानाध्यापक दवाडीलाई सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा संगठनका इन्चार्ज रश्मी आचार्य, महासचिव अन्जना शिवाकोटी, सचिव समीम बाबु खान, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
विपद्का बेला विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो सहयोग गरिएको संगठनले जनाएको छ । विद्यार्थीहरूको उज्ज्वल भविष्य र शैक्षिक उन्नयनका लागि यो अभियान निरन्तर जारी रहने संगठनको प्रतिबद्धता छ ।