काठमाडौँ । नेपाल एलपि ग्याँस उद्योग संघले परल मूल्यमा ग्याँस बिक्री गरी अनुदान दिनुपर्ने लक्षित वर्गलाई वाणिज्य बैंकमार्फत रकम उपलब्ध गराउन नेपाल आयल निगमसमक्ष माग गरेको छ । संघले घरायसी र व्यावसायिक प्रयोजनका सिलिन्डर छुट्याउन रङ फरक बनाउनुपर्ने धारणा पनि राखेको हाे ।
नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्दका अनुसार शुक्रबार बबरमहलस्थित निगमको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा निगम सञ्चालक समिति सदस्य नमराज घिमिरेको उपस्थितिमा भएको बैठकमा निगमका कार्यकारी निर्देशक, एलपीजी विभागका पदाधिकारी र संघका प्रतिनिधिहरू सहभागी थिए ।
संघकाे विशेष भेलाले परल मूल्यमा ग्याँस बिक्री गरी अनुदान पाउनुपर्ने लक्षित वर्गलाई वाणिज्य बैंकमार्फत रकम उपलब्ध गराउने व्यवस्था गर्न माग गरेकाे चन्दले बताए । त्यस्तै, हाल प्रचलनमा रहेको १४.२ केजीको सिलिन्डर घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि नीलो रङको बनाउन र फरक तौलको सिलिन्डरमा जानुपर्ने भए सरकारले उद्योगलाई तयारीका लागि २ वर्षको समय दिन सरकारसँग माग गरेकाे छ ।
यी निर्णय कार्यान्वयनका लागि संघले हाललाई ग्याँसको कोटाको १० प्रतिशत व्यावसायिक र बाँकी घरायसी प्रयोजनका लागि छुट्याउन आग्रह गरेको छ । भविष्यमा बजारको अवस्था हेरेर व्यावसायिक प्रयोजनको प्रतिशत थपघट गर्न सकिने पनि संघले उल्लेख गरेको छ ।
साथै घरायसी सिलिन्डरको मुनाफा प्रतिशतमा कायम गर्न संघले माग गरेको छ। यसका लागि हालका मुख्य सचिव तथा तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका अध्यक्ष गोविन्द बहादुर कार्कीको उपस्थितिमा २०८१ फागुनमा निगम र संघबीच भएको सहमतिको बुँदा नं. ३ लाई आधार बनाइएको छ। संघले अन्य मागहरू पनि यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ ।