काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आउँदो कार्तिक २१ गते शनिवार बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ । अस्पतालमा उपचारका लागि रगतको अभाव भएको गुनासो बढ्दै गएपछि अत्यावश्यक रगत तथा रक्त पदार्थको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान गर्न लागिएको कार्यवाहक जिल्ला सभापति गुणराज मुक्तानले बताए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपास्थित पार्टी भेन्युमा हुने कार्यक्रममा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि रक्तदान गर्नेछन् ।
रक्तदानसँगै कार्यक्रममा 'नेपाली कांग्रेसको बदलिएको दृष्टिकोण र कार्यशैली' विषयमा विशेष अनुशिक्षण दिइनेछ । पार्टीको सुदृढीकरण, बदलिँदो राजनीतिक परिस्थिति र परिमार्जित कार्यशैलीबारे पनि छलफल हुने जनाइएको छ ।
त्यसैगरी पार्टीका क्षेत्र, पालिका र वडा तहमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रम पनि तय गरिएको कार्यवाहक सभापति मुक्तानले जानकारी दिए ।