भक्तपुुर । सूर्यविनायक नगरपालिकामा ‘सूर्यविनायक मेयर कप जिल्ला अन्तरक्लबस्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । प्रतियोगिता आगामी कात्तिक २१ गतेदेखि सञ्चालन हुने भएको हो ।
नगर खेलकुद विकास समितिका संयोजक तथा नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार समितिले प्रतियोगितामा सहभागी हुन इच्छुक भक्तपुर जिल्लाभित्रका क्लब तथा संघसंस्थालाई लक्षित गरी सूचना जारी गरेको छ ।
समितिका सदस्य सचिव दीपक थापाद्वारा जारी सूचनाअनुसार प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, भेट्रान्स युगल (४५ वर्षमाथि) र १७ वर्षमुनिको बालक एकल गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा संघसंस्थाले कात्तिक १९ गतेसम्म सूर्यविनायक नगर खेलकुद विकास समितिको कार्यालयमा आवेदन फाराम पेस गर्नुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुने क्लब, संघसंस्था तथा खेलाडी भक्तपुर जिल्लाभित्रकै हुनुपर्नेछ। खेलाडीले नागरिकता, जन्मदर्ता वा बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। भेट्रान्सतर्फ ४५ वर्ष पूरा भएको र १७ वर्षमुनिको विधामा १७ वर्ष ननाघेको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ।
स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा ब्याडमिन्टन खेलको विकासमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समितिले जनाएको छ ।
सूर्यविनायक नगरपालिकामा नगर खेलकुद विकास समिति गठन भएसँगै स्थानीय खेलकुद गतिविधिले गति लिन थालेको छ।
समितिले विभिन्न खेल विधालाई चलायमान बनाउँदै अन्तरवडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ। खेलकुदका गतिविधिलाई थप विस्तार गर्ने क्रममा समितिले अहिले जिल्ला अन्तरक्लबस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
त्यसैगरी, आगामी मंसिर महिनाभित्र राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत समितिले गरेको छ। स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभा पहिचान गर्ने र नगरलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित समिति सक्रिय भएको देखिन्छ ।