काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सिधै विद्यार्थीको हातमा पुर्याइने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित कार्यक्रममा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत सुरक्षित रूपमा उनीहरूसम्म पुर्याइनेछ।
कुल २२ बुँदामा समेटिएको सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्र व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित पोस्टल ट्र्याकिङ सिस्टम (PITS) मा दर्ता गरिने उल्लेख छ। यस प्रणालीले कागजात सही ठेगानामा पुगे/नपुगेको अनुगमन गर्न सहज बनाउनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै रजिस्ट्रार डा. शिवाकोटीले विश्वविद्यालयका सेवालाई हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोमै पुर्याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे।
त्यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम रहेको बताउँदै त्रिविसँगको यस सहकार्यमार्फत जनतालाई घरघरमै सेवा पुर्याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन्।