चितवन । चितवनमा प्रहरीले करिब ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरको पटाका विस्फोटक पदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र र रकेटलगायतका पटाका बरामद गरी उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोलमा बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही ठाउँ घर भई भरतपुर महानगरपालिका-३ बाह्रघरेमा बस्ने २९ वर्षीय कन्हैया कुमार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार उनीहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद १ लाख ७२ हजार ३०० रुपैयाँ पनि बरामद भएको छ ।
उनीहरूलाई विस्फोटक पदार्थ ओसारपसार र सञ्चय गरेको कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताए । उनले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्न आग्रह पनि गरे ।