काठमाडौँ । काठमाडौँ उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयबाट अर्को सातादेखि अन्य जिल्लाका नागरिकले पनि नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन् । यसका लागि प्रदेशअनुसार काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी खिमराज भुसालले आवश्यक उपकरण जडान तथा व्यवस्थापनको काम भइरहेको र अर्को सातादेखि सेवा सुरु गर्ने तयारी रहेको जानकारी दिए ।
भुसालले पञ्जीकरण विभागबाट आवश्यक उपकरण आउने क्रम जारी रहेको बताए । केही समस्या भएका सेवाग्राहीको काम सुरु भइसकेको उल्लेख गर्दै उनले बाँकी उपकरण प्राप्त भएपछि सेवा नियमित सञ्चालन गरिने जानकारी दिए ।
नयाँ व्यवस्थाअनुसार नागरिकताको प्रतिलिपि लिन चाहने व्यक्तिको नागरिकतासम्बन्धी विवरण केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक भएको हुनुपर्नेछ । साथै, राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्नेछ । प्रणालीमा रहेको विवरण र साविकको नागरिकतामा उल्लेख भएका विवरण रुजु गर्दा हुबहु मिलेमा प्रतिलिपि जारी गरिने भुसालले बताए ।
तर, नागरिकताको अभिलेख प्रणालीमा नभेटिएको वा साविकको नागरिकतामा रहेको नाम, थर, जन्ममितिलगायत विवरण फरक परेको अवस्थामा सम्बन्धित जिल्लाबाटै प्रक्रिया अघि बढाउनुपर्नेछ । नागरिकताको विवरण संशोधन गर्नुपर्ने र निवेदन शंकास्पद देखिएका अवस्थामा पनि नागरिकता जारी भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सेवा प्रवाहका लागि प्रदेशअनुसार ३ जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी बाँडिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन् । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोसी र मधेस प्रदेशका जिल्लाका नागरिकले सेवा पाउनेछन् ।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८१ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था कार्यान्वयन गर्न लागिएको हो ।
आगलागी, पानी वा अन्य कारणले नागरिकता नष्ट भएको, च्यातिएको वा हराएको अवस्थामा प्रतिलिपि लिन सकिनेछ । नयाँ ढाँचामा नागरिकताको प्रतिलिपि आवश्यक पर्ने नागरिकले पनि यो सेवा लिन सक्नेछन् ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिनकै लागि आफ्नो गृहजिल्ला पुग्नुपर्ने अवस्था कम गर्ने उद्देश्यले यो व्यवस्था लागू गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकताको प्रतिलिपि वितरणसम्बन्धी प्रक्रिया र व्यवस्थाबारे सूचना जारी गरिसकेको छ ।