काठमाडौँ । नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले सो मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन सुरु गर्ने भएको छ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०७२ चैत २६ गते प्रकाशित सूचनाअनुसार शुल्क उठाउन लागिएको हो ।
व्यवस्थाअनुसार सवारीसाधनलाई विभिन्न वर्गमा विभाजन गरिएको छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
मिनी बस, मिनी ट्रिपस र ट्रकले काठमाडौँ प्रवेश गर्दा १ सय १५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ बुझाउनुपर्नेछ ।
सिङ्गल रियर एक्ससल भएका बस तथा ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा २ सय ६० रुपैयाँ र प्रस्थान गर्दा २ सय रुपैयाँ तोकिएको छ । मल्टि एक्ससल ट्रक, अन्य भारी सवारीसाधन र भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६ सय रुपैयाँ र प्रस्थान गर्दा २ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।