-दीपेन्द्रप्रसाद अवस्थी
दशैँको रातो अक्षता, पहेँलो जमरा र अग्रजहरूका स्नेही हत्केलाबाट प्राप्त आशीर्वादका न्यानो स्पर्शहरू विस्तारै स्मृतिग्रन्थका पुराना पानाहरूमा सेलाउँदै छन्। वर्षभरिको शारीरिक थकान, सहरको निरन्तरको दौधुप र जीवन चलाउन गरिने अनगिन्ती सङ्घर्षहरूलाई केही दिनका लागि तिलाञ्जली दिँदै गाउँ पुगेका पाइलाहरू अहिले फेरि अनिच्छापूर्वक सहरतर्फै सोझिन थालेका छन्। दशैँका केही दिन गाउँका पुराना आँगन, चौतारी, देउराली र गल्लीहरूमा जुन नयाँ जीवन र चहलपहल छाएको थियो, त्यो अहिले विस्तारै बाक्लो कुहिरोझैँ ओझेल पर्दैछ। गाउँ फेरि आफ्नो पुरानै नीरवता, निस्तब्धता र गहिरो शून्यतामा फर्कँदैछ।
रित्तिँदै गएका आँगन र भरिएका आँखाहरू
टीकाको भोलिपल्टैदेखि गाउँका साँघुरा गोरेटो र कच्ची बाटोघाटाहरूमा झोला, सुटकेस र पोकापन्ते समातेर हिँड्नेहरूको लाम देखिन थालेको छ। “बाबु/नानी, अलि दिन बसेरै गए हुन्थ्यो नि!”— बूढापाका बाबुआमाका यी कापिएका शब्दहरूमा कुनै स्वार्थ थिएन, केवल सन्तानप्रतिको अगाध माया र सामीप्यको तीव्र भोक थियो। तर, ती आत्मीय आग्रहहरूलाई “कार्यालय पुग्नैपर्छ”, “पढाइ छुट्छ” वा “व्यापार सम्हाल्नैपर्छ” भन्ने कठोर वास्तविकताले थिचिदियो।
छोराछोरी र नातिनातिनालाई बिदा गर्दा मूलढोकाको सँघारमा उभिएकी आमाको अनुहारमा छाएको मलिनता र बाबुले पटुकाको फेरले सुकिली-सुकिली पुछेका आँखाहरूले गाउँको सिङ्गो हावालाई नै भावुक र भारी बनाइदिएका छन्। गाउँ छाड्ने अन्तिम क्षणमा आमाले थरथराउँदा हातहरूले कोचेर पठाइदिएका गुन्द्रुक, सिन्की, तामा र गाउँका चिनोहरू केवल खाद्यसामग्री मात्र होइनन्; ती त आफ्ना सन्तान भोकै नरहून् भन्ने आमाको निस्वार्थ माया र ममताका प्रतीक हुन्। सहर फर्किनेहरूले बाटोभरि ती पोकाहरूसँगै आफ्नै जन्मभूमिको माटोको सुवास र जीवनभर काम लाग्ने अनमोल आशीर्वाद पनि साथै बोकेका छन्।
ओझेल पर्दै गएका बा-आमाका आकृति र सहरको कठोरता
गाउँको ओरालो झर्दै गर्दा मानिसहरूले पटक-पटक पछाडि फर्केर हेर्छन्। घरको आँगनमा उभिएर टोलाउँदै बाटो हेरिरहेका बा-आमाका आकृतिहरू दूरी बढेसँगै साना र ओझेल हुँदै जान्छन्। तर, तिनको अनुहारमा छाएको त्यो उदासी र निस्सहायता भने सहर पुग्दासम्म पनि मुटुको कुनै कुनामा बिझिरहन्छ।
गाउँको न्यानो काख र स्वच्छ हावापानी छाडेर मुख्य राजमार्गहरूमा निस्किएपछि सुरु हुन्छ,यात्राको सकस र सहरको यान्त्रिक वास्तविकता। नागढुङ्गाका अप्ठ्यारा घुम्तीहरूमा ठोक्किने गाडीका कर्कश हर्नहरू, बसपार्कहरूमा टिकटका लागि हुने तछाडमछाड र लामो यात्राको थकानले मानिसलाई क्षणभरमै सहरको कठोर यथार्थमा ल्याएर पछार्छ।
काठमाडौँ लगायतका प्रमुख सहरहरू फेरि मानिसहरूको भीडभाडले भरिभराउ हुन थालेका छन्। तर, यी सहरका हिलाम्मे र धुलाम्ये सडकहरूमा मानिसका केवल यान्त्रिक शरीरहरू मात्र आइपुगेका हुन्, तिनका चोखा मन, पवित्र भावना र आत्मा भने अझै पनि गाउँकै शीतल चौतारी, चङ्गा उडेको नीलो आकाश, पिङका लठ्ठा र उही पुरानो आँगनमै छुटिसकेका छन्। सहर आइपुगेका पाइलाहरूमा पनि गाउँकै यादको गहिरो र अमिट छाप बाँकी नै छ।
बाध्यताको गोरेटो र जीवनको शाश्वत नियम
सहर फर्किनु कसैको रहर होइन, यो त जीवनको गति थाम्ने र दायित्व पूरा गर्ने एउटा अपरिहार्य बाध्यता हो। अध्ययनको उत्तरदायित्व, कार्यालयको कार्यभार, रोजगारीको खोजी र परिवारको सुखद भविष्य निर्माण गर्ने सपना नै ती अदृश्य इन्जिन हुन्, जसले मानिसलाई गाउँको आत्मीय वातावरणबाट थतेर सहरको कोलाहलतर्फ धकेल्छन्।
तर, यो बिदाइ र फर्काइ नै मानव जीवनको शाश्वत नियम पनि हो। दशैँले दिएको नयाँ ऊर्जा, मान्यजनको अक्षताबाट प्राप्त आशीर्वाद र आफन्तको मायाले अब वर्षभरि सहरको कठोर जीवन र सङ्घर्षहरूसँग जुध्ने अद्भूत हिम्मत र हौसला प्रदान गर्नेछ।
गाउँका पुराना घर, पिँढी र आँगनहरू फेरि सुनसान भएका छन्। बूढापाकाका आँखाहरू फेरि बाटो हेरेर बस्नेछन्-अब आउने तिहार, छठ वा अर्को वर्षको दशैँमा ती पाइलाहरू फेरि फर्कने आशामा। र, सहरमा आइपुगेका यी यान्त्रिक पाइलाहरू फेरि आफ्ना सपना साकार पार्न र जिम्मेवारी पूरा गर्न सङ्घर्षको मैदानमा होमिनेछन्।