काठमाडौँ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आगामी साता नेपालको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति एक 'पोस्ट-मनसुन विशेष मौसम बुलेटिन' जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र (Low Pressure Area) विकसित भइसकेको छ। उक्त प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) सोमबारसम्म चक्रवाती आँधी (Cyclonic Storm) मा परिणत हुने सम्भावना छ । चक्रवात बनेपछि यो पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तटबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
यस प्रणालीको असरस्वरूप आगामी कात्तिक ११ गते (बुधबार) देखि कात्तिक १५ गते (आइतबार) सम्म नेपालको मौसममा बदली आउने र मौसम प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार चक्रवातका कारण नेपालमा कति मात्रामा वर्षा हुन्छ र यसको जोखिम कुन स्तरको हुन्छ भन्ने विषयमा अहिले नै यकिन भइसकेको छैन । यद्यपि, पोस्ट-मनसुनको समयमा आउने यस्ता प्रणालीले विशेष गरी कृषि बाली थित्याउने समय (धान काट्ने तथा भित्र्याउने सिजन) र पदयात्रामा रहेका पर्यटकहरूलाई प्रत्यक्ष असर पार्न सक्ने भएकाले पूर्वतयारी र सतर्कता आवश्यक रहेको छ ।
'नेपालमा हुने वर्षाको मात्रा र असरबारे जल तथा मौसम विज्ञान विभागले निरन्तर अनुगमन गरिरहेको छ,' महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'मौसमसम्बन्धी आधिकारिक र अद्यावधिक जानकारीका लागि विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न अनुरोध गरिन्छ ।'
प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले किसान तथा पदयात्रीहरूलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र आफ्ना गतिविधिहरू अगाडि बढाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।