काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। उनी सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भारतमा हुने बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री सहभागी हुनेछन्। सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रअन्तर्गत यो पहिलो गृहमन्त्रीस्तरीय बैठक हो।
बैठकमा आतंकवाद, मानव बेचबिखन, साइबर अपराध, सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा लागुऔषध ओसारपसारजस्ता क्षेत्रीय सुरक्षा चुनौतीबारे छलफल हुनेछ।
नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा उद्धार र राहत कार्यमा क्षेत्रीय समन्वय अभिवृद्धिको विषयलाई पनि प्राथमिकतामा राख्ने जनाइएको छ।
बैठकमा सुरक्षा सहकार्यसँग सम्बन्धित विभिन्न विषय तथा दस्तावेजमा छलफल गरी पारित गर्ने र अन्त्यमा घोषणापत्र जारी गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा गृहमन्त्री गुरुङले अन्य सदस्य राष्ट्रका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
बंगालको खाडी क्षेत्रका मुलुकबीच प्राविधिक तथा आर्थिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले स्थापित बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्।