– श्याम लम्साल
उहिले सत्ययुगमा भगवान् शिवजीसँग तीनवटा जिनिस थिए रे– बुद्धि, धन र फुटानी । त्यसमा बुद्धिको महत्व बुझ्नेले बुद्धि माग्यो र पायो रे, जसलाई बंगाली भनिन्छ रे । मारवाडीले धन लग्यो रे । हामी नेपालीले चाहीँ केही लियौ कि लिएनौँ होला ?
भोजपुर र संखुवासभा जिल्लाको बिचमा बग्ने अरुण नदीको लम्सुवाघाटको पक्की मोटरेबल पुल निर्माणको ठेक्का लागेर राज्यको करिब ७ करोड रकम खर्च भएर त्यो पुल अलपत्रिएको खबर छ । के अब यो पुल नबने नै हो त ? हरेक आमनिर्वाचन र स्थानीय निर्वाचनमा धेरै दलका चुनावी एजेण्डामा पर्ने यो पुलले कहिले पूर्णता पाएर मोटर चढेर दिङ्ला जानुहोला ? कि तुम्लिङटारमै अड्किरहने हो भन्ने पनि प्रश्न रहेछ स्थानीयबासीको । यसको जवाफ कसले कहिले दिने होला ? के दिङ्ला उत्तर, दक्षिणका नेताहरुको बक्रदृष्टिकै कारण लम्सुवापुलको यो हालत भएकै हो त ?
नेपाली कांग्रेस भोजपुरका पुराना नेता, प्रजातान्त्रिक सेनानी स्व. तीर्थराज लम्साल भन्ने गर्नुहुन्थ्यो– “नेपाली कांग्रेस भनेको वी.पी. को बुद्धि र सुवर्णको धनको विकसित रुपको भीड हो । देशमा अमेरिका राम्रो, पार्टीमा कांग्रेस राम्रो, यहाँ को कहिले लाग्यो, कहिले कसले कति दुःख गर्यो, कसले कहिले के गर्यो/गरेन, यसको कुनै लेखाजोखा नै हुँदैन ।” गाउँको मुखियाको भतेरमा झैँ जतिजति भ्यायो, खानेले खायो, नखाने भोकै भयो भने कसैलाई केही मतलब नै हुँदैन । जसले हान्यो, त्यसले गरिखायो छ यो पार्टीको ताल । के आजको बद्लिएको कांग्रस पनि त्यस्तै नै हो त ?
कवि मञ्जुलको एउटा कविता छ– ‘माथि उक्लन मात्रै होइन, ओर्लन पनि भर्याङ्ग चाहिन्छ’, होइन र ? हाम्रा देशका ठूलाबडा जनताको ढाड टेकेर माथि चाहीँ उक्लिएकाउक्लियै छन् । जनताले ढाड दिन मानेनन् भने ओर्लन चाहीँ के गरी ओर्लन्छन् होला ?
झापाका सुप्रसिद्ध विद्वान् देवी बर्मा भन्ने गर्नुहुन्थ्यो– “अहिले यो देशमा हामी जन, जन्तु र जन्ती मात्रै छौँ, जनता भएका दिन यो देशमा संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र स्थापना हुन्छ ।” कवि गोपालप्रसाद रिमालले भनेझैँ– “हो बा ! त्यो दिन आउँछ र ?” कहिले आउने होला ?
गायक जीवन शर्माको स्वरमा सुन्न सकिने एउटा गीत छ– “संसारमै गरिबको छैन राज्य भन्छ तर पनि यो देशमा ल्याउन हामीलाई मन छ ।” तर कहिले आउने ? कसले ल्याइदिने ? यसै सन्दर्भमा यो कविता प्रस्तुत गर्न मन लागेको छ ।