समयक्रममा
हुलका हुल मान्छेहरु
विभिन्न नारा लिएर आए
हुलका हुल मान्छेहरु
नयाँ विचार बोकेर आए
कोही विकासको नयाँ एजेण्डा बोकेर आए
कोही झण्डा लिएर
कोही डण्डा लिएर आए
हातमा केही नभएकाहरु
आवाज लिएर आए
कोही हाम्रै कथा र सपनाहरुको
जुलुस बनेर आए
हाम्रा व्यथाहरुको ओखती बन्ने
सपना बुनाए
हामीले उनीहरुलाई अनुमोदन गरिरह्यौँ
हामीले बल्ल बुझ्यौँ जस्तो भएको त
हामी त त्रिपुरेश्वर–सूर्यविनायकको यात्रामा
फन्फनी जहाँको त्यहीँ नै
घुमिरहेका पो रहेछौँ
के समयको नियति यही हो ?
पात्र फेरिएपनि
प्रवृत्ति पुरानै भएपछि
घडीको सुइरोले पनि
आफ्नो धर्म थाम्न नपाउँदोरहेछ
समयको नियती नै
यस्तै नै हुँदो पो रहेछ
युगौँयुग यसरी नै चल्छ होला ।