काठमाडौं । रामेछापका व्यावसायिक कृषकलाई आधुनिक कृषि प्रविधि र उपकरणबारे जानकारी गराउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा सहभागी हुन आवेदन माग गरेको छ ।
‘कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रदर्शनीमा सहभागी हुन इच्छुक कृषकले असोज २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
बागमती प्रदेश सरकारअन्तर्गतको कृषि विकास निर्देशनालय मातहत रहेको कार्यालयले सूचना जारी गर्दै जिल्लाका व्यावसायिक कृषकलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको हो । कार्यालयले छनोट भएका कृषकको आवतजावतको व्यवस्था गर्नेछ भने उनीहरूलाई प्रदर्शनीको एक दिन अवलोकन गराइनेछ ।
प्रदर्शनीमार्फत कृषिमा आधुनिक यन्त्र तथा उपकरणको प्रयोग बढाउने, नयाँ प्रविधिबारे जानकारी दिने र कृषकको कार्यक्षमता वृद्धि गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
सहभागी हुन इच्छुक कृषकले कार्यालयबाट उपलब्ध गराइएको फाराम भरी कार्यालयमै बुझाउन वा adoramechhap@gmail.com मा इमेल गर्न सक्नेछन् ।
आवेदनमा कृषकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा किसान परिचयपत्र नम्बर, खेती गरिरहेको बाली र क्षेत्रफल, कृषि फर्म वा समूहको नाम, कृषि व्यवसाय गरेको अवधि तथा उपलब्ध संरचना र यन्त्र उपकरणको विवरण खुलाउनुपर्नेछ । साथै, प्रदर्शनीमा सहभागी हुन चाहनुको कारण र अपेक्षासमेत उल्लेख गर्नुपर्नेछ ।
सहभागीको संख्या सीमित हुने भएकाले व्यावसायिकता र आवश्यकताका आधारमा कृषक छनोट गरिने कार्यालयले जनाएको छ । छनोटका लागि आवश्यक मापदण्डसमेत कार्यालयले निर्धारण गर्न सक्नेछ ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष कृष्ण शर्माले रामेछापको कृषि कार्यालयले देखाएको सक्रियता कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि सकारात्मक भएको बताए । उनले कृषि क्षेत्रको रूपान्तरणका लागि आयोजना हुन लागेको प्रदर्शनीमा कृषि कार्यालय, स्थानीय तह र अन्य सरोकारवाला निकायलाई पनि सहयोग गर्न आग्रह गरे ।
प्रदर्शनी कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको हो । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहने प्रदर्शनीमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन् ।
थप जानकारीका लागि कार्यालयका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीलाई ९७६७७६३९७६ मा सम्पर्क गर्न सकिनेछ । कार्यालयको फोन नम्बर ०४८–५४०३०८ र ०४८–५४००६३ रहेको छ ।