काठमाडाैँ । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ तिहार अफर २०८३ उपलब्ध गराउने भएको छ ।
सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन् ।
यस अफर अन्तर्गत असोज २५ देखि कात्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिने छ। त्यसैगरी १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरूलाई एक महिना थप सहित १३ महिनाको प्याकेज उपलब्ध हुनेछ। यसमा बोनान्जाका रूपमा उपलब्ध हुने मोबाइल डाटा समेत १३ महिना सम्म नै उपलब्ध हुनेछ। महत्त्वपूर्ण सेट-टप बक्स सहितको प्याकेज लिने ग्राहकहरूका लागि रु. १००० छुट पहिले देखि नै उपलब्ध छ।
अफर अन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरूका लागि रु. ४९९ मा ५ जीबी फेस्टिभल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ। फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधिभर २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नु हुनेछ।
यसका साथै रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेटर र रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुनेछ। यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ।
आगामी २०८३ असोज ३० देखि कात्तिक ३० सम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकहरूले यो अफर अन्तर्गतको सुविधा लिन सक्नु हुनेछ। आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरू खरिद गर्न सकिनेछ।
विभिन्न पर्वहरूका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरूले चाडपर्वको समयमा अझ बढी सम्पर्कमा रहन, आफन्तसँग खुसी बाँड्न र डिजिटल सेवाहरूको प्रयोग बढाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास रहेको छ।
