कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी सानुराम भट्टराईले एक कार्यक्रमबीच सहायता कक्षको उद्घाटन गरेका हुन्।
दसैँलगायत चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा सुनिश्चित गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउनुका साथै यात्राका क्रममा आइपर्ने समस्या समाधानमा सहजीकरण गरिनेछ।
सहायता कक्ष उद्घाटन कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख एसपी नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्द, यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशी, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरा सिंह महरालगायतको सहभागिता थियो।
कार्यक्रममा प्रहरी कर्मचारी, यातायात व्यवसायी, चालक तथा सहचालक, पत्रकार र अन्य सरोकारवालाको समेत उपस्थिति रहेको थियो।