सुनसरी । प्रहरीले सुनसरीको इनरुवाबाट २५ क्विन्टलभन्दा बढी गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा प्रहरीले २ हजार ५६६ किलो गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लका अनुसार बन्दागोभी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा ८३ वटा बोरामा प्याक गरिएको गाँजा फेला परेको थियो ।
गाँजा बरामद भएपछि प्रहरीले ट्रक चालक सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सहचालक १८ वर्षीय सन्दीप राईलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।