काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ । कटुवालका अनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।
यसैगरी ५ देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६ः३० देखि ७ः३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, असोज २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन अपरान्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, ५ः३० देखि ६ः३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।
यसैगरी असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र उम्मेदवारी सच्याउन निवेदन दिने कार्यतालिका छ। सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि असोज २१ गते उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउने छन्।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए ।