काठमाडौं । बाढी, पहिरो तथा वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा समयअनुसार सवारी सञ्चालनको व्यवस्था गरिएको छ भने रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका विभिन्न सडकखण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा भदौ १६ गतेदेखि राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारीसाधन सञ्चालन गर्न दिइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सबै प्रकारका सवारीसाधन सञ्चालन हुने प्रहरीले जनाएको छ ।
मकवानपुरका विभिन्न राजमार्गमा पनि सवारी सञ्चालनका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।
१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जान सक्ने व्यवस्था गरिएको छ।
मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारीसाधनलाई उक्त पुल प्रयोग नगरी छेउमा रहेको डाइभर्सनबाट जान आग्रह गरिएको छ। विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न तथा चालकले आफ्नो पालोमा मात्र सवारी चलाउन, ओभरटेक नगर्न र ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न भनिएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनलाई राति आवतजावत गर्न रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलाम्मे भई सवारी आवागमन प्रभावित भएको थियो। उक्त सडकखण्डमा हाल साना सवारीसाधन मात्र सञ्चालनमा आएका छन्।
रसुवामा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि बाटो अवरुद्ध भएको थियो। त्यसपछि २०८३ साउन १० गते आएको बाढीले सडकको अधिकांश भाग नष्ट गरेको जनाइएको छ।
बाढीका कारण त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। स्याफ्रुबेंसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसीसम्मको एक लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।
धादिङको पृथ्वी लोकमार्ग पनि विभिन्न स्थानमा प्रभावित भएको छ। बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित सडकखण्डमा भदौ १४ गते त्रिशूली नदीले कटान गर्दा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोही दिन गजुरी गाउँपालिका–२ परेवा भीरस्थित पृथ्वी लोकमार्गको तल्लो भाग बाढीका कारण भासिएको थियो। उक्त स्थानमा साना सवारीसाधनका लागि एक लेनको बाटो भने सञ्चालनमा आएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित नाग्म–मुगु–गमगढी सडकखण्डमा पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ। २०८३ भदौ १६ गते साँझ करिब ६:१५ बजे माथिबाट ढुंगा, माटो तथा लेदोसहितको पहिरो आएपछि सडक पूर्ण रूपमा बन्द भएको हो।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रे–बलेफीस्थित सडकखण्डमा २०८३ भदौ १७ गते साँझ करिब ६:२० बजे ढुंगा, लेदोसहितको पहिरो आएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।