काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीपछि फेला परेका शव पहिचान गर्न समस्या भएपछि सरकारले डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ।
बाढीमा फेला परेका कतिपय शव गलेको, अनुहार चिन्न नसकिने तथा केहीको शरीरका अङ्ग मात्रै फेला परेकाले पहिचानमा कठिनाइ भएको हो। यस्तो अवस्थामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारले मृतक तथा बेपत्ता व्यक्तिका नजिकका आफन्तको डीएनए परीक्षण गरी शव पहिचान गर्ने व्यवस्था गरेको छ।
प्रयोगशालाका अनुसार बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीले डीएनए परीक्षणका लागि रगतको नमुना दिन सक्छन्। आफन्तबाट सङ्कलन गरिएको डीएनए प्रोफाइलसँग फेला परेको शवको डीएनए मिलान गरी पहिचान पुष्टि भएपछि शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।