सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ मा भएका स्वास्थ्यसम्बन्धी कार्यहरूको वार्षिक समीक्षा कार्यक्रम मंगलबार र बुधबार सम्पन्न भएको छ । कार्यक्रममा पालिका, मातहतका स्वास्थ्य संस्था तथा विभिन्न गैरसरकारी संस्थाहरूले वर्षभरि गरेका काम, भोग्नुपरेका चुनौती र देखिएका समस्याका विषयमा गहन छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख सागर खड्काले जानकारी दिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले स्थानीय तहले जिल्ला, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक समन्वय गरेर काम गर्दा कार्यसम्पादन सहज हुने बताइन् । लिसंखुपाखरको स्वास्थ्य क्षेत्रको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले आवश्यक प्राविधिक तथा अन्य सहयोग गर्न जनस्वास्थ्य कार्यालय सधैँ तत्पर रहेको प्रतिबद्धता जनाइन् ।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाले सीमित स्रोत र साधनका बाबजुद पालिकाले नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा दिन सक्दो प्रयास गरिरहेको बताइन् । ‘उपाध्यक्ष सुत्केरी भेटघाट’ जस्ता प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिइएको जानकारी दिँदै उनले पालिकामा घट्दो जनसङ्ख्याको अवस्थाप्रति ध्यान दिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका लेखापाल कपिल विष्टलगायत अन्य कर्मचारी तथा स्वास्थ्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।