काठमाडौं । लामो समयको विदेश बसाइपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा तुलनात्मक रूपमा नरम देखिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगेलगत्तै एकाएक आक्रामक रूपमा प्रस्तुत भएका छन् ।
आफ्ना निष्ठावान् नेता तथा कार्यकर्ताहरूको विशाल उपस्थितिमाझ आयोजित सम्बोधनका क्रममा देउवाले आफू र आफ्नो परिवारविरुद्ध बुझिएका अनेकौँ षड्यन्त्र, राजनीतिक प्रतिशोध र कानुनी उल्झनहरूप्रति कडा आक्रोश पोख्दै कसैको धम्की र जालझेलबाट आफू कहिल्यै विचलित नहुने स्पष्ट सन्देश दिएका हुन् ।
सम्बोधनका क्रममा देउवाले आफूविरुद्ध देशभित्र र अन्तर्राष्ट्रिय स्तरमै चरित्रहत्या गर्ने गरी कपोलकल्पित मुद्दाहरू हालिएको प्रसंग उचाल्दै विरोधीहरूलाई ‘फटाहा’ को संज्ञा दिए । आफू र धर्मपत्नी आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट (आईसीसी) सम्म पुगेर मुद्दा दर्ता गराउने प्रयास भए पनि त्यस्ता आधारहीन आरोपहरूलाई अन्तर्राष्ट्रिय निकायले अस्वीकार गरिदिएको उनले दाबी गरे ।
देशभित्रका अदालत र निकायहरूमा समेत राजनीतिक प्रतिशोधका आधारमा मुद्दा हालेर दुःख दिने नियत राखिएको भन्दै सर्वोच्च अदालतले समेत आफूहरूलाई पक्राउ नगर्न आदेश दिइसकेको अवस्थामा पनि लगातार बदमासीपूर्ण हर्कतहरू जारी राखिएको भन्दै उनले कडा आपत्ति जनाए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागजस्ता राज्यका संवैधानिक निकायहरूलाई समेत राजनीतिक अस्त्रका रूपमा प्रयोग गरी आफूहरूमाथि पटक–पटक अनुसन्धान गराइएको प्रसंग उनले विस्तारमा खोले ।
विभागले पहिलो र दोस्रो पटकसम्म गहन अनुसन्धान गर्दा कुनै पनि गैरकानुनी वा शंकास्पद सम्पत्ति नभेटिएको स्पष्ट पारिसक्दा पनि तथ्य स्थापित गर्ने इमानदार अधिकारीहरूलाई नै पदबाट हटाइएको आरोप देउवाले लगाए ।
यतिसम्मको नांगो बदमासी र हदैसम्मको षड्यन्त्र हुँदा पनि आफूले कुनै व्यक्तिगत बदला वा प्रतिशोधको भावना नराख्ने तर यस्ता षड्यन्त्रकारीहरूलाई इतिहास र समयले नै कडा जवाफ दिने ठोकुवा गरे ।
आफ्नो राजनीतिक इतिहास र जेलनेलको अनुभवलाई स्मरण गराउँदै देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको निरङ्कुश शासनकालको प्रसंग समेत तानेका थिए । तत्कालीन शाही सत्ता र पूर्वराजा ज्ञानेन्द्रले सम्पूर्ण शक्ति प्रयोग गर्दा त आफ्नो निष्ठा र राजनीतिक उचाइलाई केही गर्न नसकेको भन्दै अहिलेका सानातिना षड्यन्त्रकारीहरूले आफूलाई कुनै असर पार्न नसक्ने चेतावनी दिए ।
देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई केही नगर्न नसकेको भन्दै अरूले पनि केही गर्न नसक्ने बताए । ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ?,’ उनको प्रश्न थियो ।
देशमा गणतन्त्रको स्थापना कुनै व्यक्ति विशेषको चाहनाले मात्र नभई संविधानसभाको पहिलो ऐतिहासिक बैठक र लाखौँ नेपाली जनताको महान् बलिदानबाट सम्भव भएको उल्लेख गर्दै उनले देशमा जनता नै असली मालिक भएको र जनताको निर्णय नै अन्तिम हुने स्पष्ट पारे । संविधान, लोकतन्त्र र जनताको सर्वोच्चताका अगाडि कसैको षड्यन्त्र नटिक्ने भन्दै देउवाले आफूविरुद्ध लागिपर्नेहरूलाई धैर्यताका साथ सामना गर्ने दृढता व्यक्त गरे ।
देउवाले देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए । ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र, मैले मात्रै चाहेर ल्याएको हो ?,’ उनले भने, ‘संविधानसभाले ल्याएको हो गणतन्त्र, मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन, नेपाली जनता सबैभन्दा ठूलो हो, जनता मालिक हो, मालिकले जे भन्यो त्यही हुन्छ ।’