काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर-गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाकाअनुसार मृत्यु हुनेमा थबाङ-५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् ।
घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका प्रहरीले जनाएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएको हो । गए राति घटनास्थलमा प्रहरी टोली पुगेको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको छ । दुवै घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले पहिराबाट छ घर/गोठमा क्षति पुगेको जनाएको छ । रासस