काठमाडौं । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएकाले सोही आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो ।
उक्त समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएपछि श्रेष्ठमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो । उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन् ।