विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिको प्रेमिका जर्जिना रोड्रिगेज अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । वर्षौंदेखि समर्थक र मिडियामाझ अनुमानको विषय बनेको उनीहरूको सम्बन्धले पोर्चुगलमा आयोजित एक अदालती (कोर्ट) म्यारिजमार्फत औपचारिक रूप लिएको हो ।
विवाहपछि यो जोडीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना औंठीहरू देखाउँदै खुसीयाली साटेका छन् । रोनाल्डो र जर्जिनाको भेट सन् २०१६ मा स्पेनको मड्रिडमा भएको थियो ।त्यसयता उनीहरू सँगै जीवन विताइरहेका छन् । हाल उनीहरू चार जना बालबच्चासँगै सुखी पारिवारिक जीवन बिताइरहेका छन् ।
यो विवाह रोनाल्डोको खेल जीवनको एक महत्त्वपूर्ण मोडलगत्तै भएको हो । हालै सम्पन्न २०२६ को फिफा विश्वकपमा रोनाल्डोले पोर्चुगलको प्रतिनिधित्व गरेका थिए। तर, जुलाईमा भएको राउन्ड अफ १६ को प्रतिस्पर्धामा स्पेनसँग १-० ले पराजित भएसँगै पोर्चुगल प्रतियोगिताबाट बाहिरियो।
स्पेनसँगको हारपछि उनी मैदानबाट उदास अनुहार र आँखामा आँसु लिएर बाहिरिएका थिए, जसले विश्वभरका फुटबल प्रेमीहरूलाई भावुक बनाएको थियो।
मैदानभित्रको नतिजा जस्तै रहे पनि रोनाल्डोले व्यक्तिगत कीर्तिमानमा भने नयाँ इतिहास रचेका छन्। गत वर्ष सेप्टेम्बर ५ मा क्रोएसियाविरुद्धको खेलमा उनले आफ्नो करियरको ९०० औं गोल पुरा गरेका थिए। व्यावसायिक फुटबलको इतिहासमा ९०० गोलको आँकडा छुने उनी विश्वकै पहिलो खेलाडी हुन्।