काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त भएको छ । गुरागाईँले, २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गरेका थिए । उमेरका कारण उनी बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।
महानगरपालिकाले उनलाई विदाइ गरेको छ । विदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु सहभागी थिए । विदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले, कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गर्नुभएको प्रशासनिक नेतृत्व काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहने बताइन् ।
‘पद अस्थायी हो । सेवा स्थायी हो ।’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘पदीय दायित्व सकिए पनि सेवा सकिँदैन । सेवा निवृत्त जीवनमा यहाँको सेवा यात्रा अझ परिष्कृत हुने अपेक्षा गरेका छौँ ।’