नारायण भण्डारी
धाता विधाता विधि एक छ : ऊ अप्रकट,अदृश्य,अव्यय छ ।
तर प्रकृति प्रकट छ : ऊ विधाताको भाव भाषामा चल्छ ।
प्रकृति पदार्थमा प्रकट हुन्छ :
आकाशमा शब्द भएर बोल्छ,
अग्निमा ऊर्जा ज्वाला भई जल्छ
वायुमा गति स्पर्श बनेर चल्छ
जलमा जीवन रस भएर जन्मन्छ
पृथिवीमा धैर्य धारणको धर्म बनेर धानिन्छ
आकाश अन्तरिक्ष, द्यौलोक,
जून तारा तारामण्डल,आकाशगंगा,ब्रह्माण्ड
प्रकृतिका प्रकटीकरण हुन् ।
मानवदेह भूतात्मा भौतिक वदन स्वयंभू रचित
सब थोक भवरुप प्रकृति बोल्ने माध्यम हुन्
इन्द्रियले ग्रहण गर्ने सबै वस्तु प्रकृति हुन्
देखेको मात्र मान्छु,त्यही सत्य हो यो प्रकृतिज्ञान हो
प्रकृति विधाताको विधिमा चल्छ,
ऊ विधाताको विचार,आशय,धर्मलाई चरितार्थ गर्छे
वस्तुको उत्पत्ति,चाल स्थिति र विसर्जन प्रकृति हो ।
प्रकृति विधाताको विधिले चल्ने प्रयोगशाला हो ।
विधाताले पदार्थमा जे धर्म दिन्छ प्रकृति सो गर्छे
विधाताले आकाशलाई शब्दको धर्म दिएको छ
अग्निलाई जलाउने धर्म दिएको छ
वायुलाई गतिको गुण दिएको छ
जललाई चालको स्वभाव दिएको छ
पृथिवीलाई स्थिरता र धारणको शक्ति दिएको छ
विधाताको देन देशना र आदेशमा चल्नु प्रकृतिको रीत हो प्रकृति कहिल्यै विपरीत,चल्दैन ऊ रीतमार्गी हो ।
जलले बगाउन छोड्दैन,अग्निले जलाउन बिर्सन्न
हामी आगोले पोल्यो पीडा भो भन्छौँ
तर उसले विधाताको आदेश पालन गरेको हो
प्राकृतिक रीतको धर्म गरिरहेको हो ।
यिनीहरु प्रकृतिवत् पथमा चलिरहन्छन् ।
विधिको विधान धानिरहन्छन्
सत्व रज तम पनि प्रकृति नै हो ।
यही प्रकृति अनुसार जीवनशैली बन्छ
प्राकृत जीवनशैलीभन्दा माथि जानु चेतना हो ।
ऊध्र्वगामी हुनु चैतन्यचाल हो
यही चालले मानव जीवनलाई
प्रकृतिको चक्रभन्दा माथि तटस्थतामा पुरयाउँछ
विधाता समक्ष लैजान्छ
जड प्रकृतिबाट मुक्त भई स्वानन्दमा
रमाउने एक मात्र उपाय ज्ञान हो
ज्ञान अनन्त छ : सबैले सबै ज्ञान पाउन सम्भव छैन
तर म जान्दिन भनेर विरागी बन्न सम्भव छ
जुन दिन मानव रागरहित हुन्छ
उसमा ज्ञानको मूल फुट्छ
अनि उसको अहम्भाव प्रकृतिबाट छुटेर
विधाताको धाममा मिसिन्छ
यो महासंगम नै मनुष्यको साध्य हो
विधाताको मार्ग हो ।।