काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले समकालीन कम्युनिस्ट राजनीतिमा भइरहेको दलहरूबीचको एकता र सहकार्यको प्रयासलाई तीखो व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले यसलाई “पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग” को संज्ञा दिएका हुन् ।
पछिल्लो समय कम्युनिस्ट शक्तिहरू सङ्गठित हुने बहस चलिरहेका बेला एमाले नेता बाँस्कोटाले नेतृत्व तहमाथि गम्भीर प्रश्न उठाएका छन् । विभिन्न दलका नेतृत्वले राजनीतिक सङ्कट र भयङ्कर खतराको हौवा देखाएर कार्यकर्ता र जनतामाझ एउटा सुन्दर कथ्य निर्माण गर्न खोजेको उनको आरोप छ । तर, यस्ता भाष्य सारमा आफ्नो असफलता लुकाउन र शक्तिमा टिकिरहनका लागि मात्रै प्रयोग गरिएका भुत्ते हतियार भएको उनले टिप्पणी गरेका छन् ।
बाँस्कोटाले कम्युनिस्ट आन्दोलनमा वास्तविक सुधार र शक्ति आर्जनको चाहना राख्ने हो भने नेतृत्वले सबैभन्दा पहिला विगतमा पार्टी फुटाएर गल्ती गरेको आत्मस्वीकारोक्ति गर्नुपर्ने सर्त अघि सारेका छन् । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै उनले थपेका छन्, 'यदि सुधार नै चाहेको हो भने आफू पद र शक्ति छोडेर आफ्ना सहकर्मीलाई अगाडि बढ्न भन्न सक्ने नैतिक आँट नेतृत्वसँग छ ?'
अहिलेको राजनीतिक तरलतातर्फ सङ्केत गर्दै नेता बाँस्कोटाको यो भनाइले कम्युनिस्ट वृत्तमा भइरहेको एकताको कसरत केवल शक्ति केन्द्रित दाउपेच मात्रै भएको र यसले आन्दोलनलाई सही दिशा दिन नसक्ने सङ्केत गरेको छ।