बुद्धिमान परियार
नेकपा एमाले केन्द्रदेखि स्थानीय तहसम्म पुनरगठन र नेतृत्व हस्तान्तरणको गम्भीर मोडमा उभिएको छ । इतिहासकै संकटमय घडीबाट गुज्रिरहेको एमालेलाई पुनर्जीवन दिन सचिवालयको निर्णय अनुसार असार १८ गतेसम्म तल्लो तहबाट सुझाव संकलन तीव्र पारिनु सकारात्मक कदम हो । मिडिया र विभिन्न प्रदेश भेलाहरूबाट पनि बहुसंख्यक नेता-कार्यकर्ताले नेतृत्व परिवर्तन र रूपान्तरणको माग जोडदार रूपमा उठाएको देखिन्छ, जसले तलैदेखि सुधारको तीव्र चाहना रहेको पुष्टि गर्छ ।
पार्टीको सिट संख्या २५ मा खुम्चिनु जस्तो गम्भीर धक्का लाग्दा पनि मूल नेतृत्वले कुनै नैतिक जिम्मेवारी वा जवाफदेहिता नदेखाउनु दुखद छ। अनेकौँ बहाना, जालझेल र पेलपालको शैलीमा अध्यक्ष केपी शर्मा ओली पदमै टिकिरहन खोज्नु र उनलाई केही स्वार्थी 'पाखुरे'हरूले ढाडस दिइरहनुले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको छ। यस्तो अवस्थामा अध्यक्ष स्वयंले उच्च नैतिकता देखाएर सहज नेतृत्व हस्तान्तरणको बाटो खोल्नु नै पार्टी हितमा हुने उत्तम विकल्प हो।
हिजोका दिनमा आफू शक्तिमा आउनका लागि अघि सारिएका लोकतान्त्रिक र लोकप्रिय नाराहरू—जस्तै दुई कार्यकालको सीमा र ७० वर्षे उमेर हद—केवल अरूलाई विस्थापित गर्ने हतियार मात्र थिए भन्ने कुरा दोस्रो विधान महाधिवेशन (२०८२ भाद्र) बाट प्रमाणित भएको छ। आफू स्थापित भएपछि आफ्नो शक्ति सुरक्षित गर्न ती नीतिहरू खारेज गरिनुले एउटा गलत नजिर स्थापित गरेको छ। अब आउने नयाँ नेतृत्वले पनि शक्तिमा पुगेपछि विगत बिर्सने र पुरानै प्रवृत्ति दोहोर्याउने हो भने "जुनै जोगी आए पनि कानै चिरेको" भन्ने उखान चरितार्थ हुने निश्चित छ।
पार्टीभित्र विधि र पद्धतिको स्थान हैकमवादी शैली, गुट र संकीर्ण घेराबन्दीले लिएको छ। लेनिनवादी संगठनात्मक पद्धतिको उल्लंघन गर्दै शीर्ष नेताहरूको देवत्वकरण र चाकरीवाद मौलाएको छ, जहाँ सही सुझाव दिने इमानदार कार्यकर्तामाथि अनुशासनको डण्डा चलाइन्छ। अचम्मको कुरा त के छ भने, हिजो ओली कमजोर हुँदा तत्कालीन शक्तिशाली महासचिवको ओत लागेर ओलीकै खेदो खन्ने अवसरवादीहरू नै आज फेरि शक्तिको केन्द्र फेरिएसँगै ओलीकै आडमा बसेर पुराना र सच्चा निष्ठावान कार्यकर्तामाथि कोर्रा चलाउँदैछन्। यस्ता कनिष्ठ र 'शक्ति पूजक'हरूलाई नेतृत्वले काखी चापिरहनु ठूलो विडम्बना हो।
पार्टी पुनरगठन र नेतृत्व हस्तान्तरणले तब मात्र सार्थकता पाउँछ, जब अब बन्ने नेतृत्वले यी चरम अवसरवादी र गुट परिवर्तन गरिरहने स्वार्थी तत्त्वहरूलाई पाखा लगाउँछ। अबको मूल कार्यभार भनेको वैचारिक र सैद्धान्तिक रूपमा खारिएका, लामो पृष्ठभूमि भएका, जनतासँग घनिष्ठ सम्बन्ध राख्ने र मार्क्सवाद-लेनिनवाद एवं जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात् गरेका इमानदार नेता-कार्यकर्तालाई जिम्मेवारी दिनु हो। यदि नयाँ नेतृत्वको वरिपरि पनि यिनै स्वार्थी तत्वहरूले घेराबन्दी गरिरहे र परिवर्तनका वाहकहरूमाथि नै डण्डा चलिरह्यो भने एमालेको भविष्य झन् संकटमा पर्नेछ। त्यसैले अबको नेतृत्व "कान चिरेको जोगी" जस्तो हुनु हुँदैन।