काठमाडौँ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि हरित सहर बनाउने प्रमुख लक्ष्यसहित नीति, कार्यक्रम नगर सभामा प्रस्तुुत गरेको छ । टोखा नगरपालिकालाई समुन्नत, स्वच्छ, हरित तथा नागरिकमैत्री नगर निर्माणको लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले सडक मानवमुक्त नगर घोषणा, योगनगर निर्माण, डिजिटल सेवा विस्तार, उद्यमशीलता विकास, गुणस्तरीय स्वास्थ्य सेवा तथा स्मार्ट पूर्वाधार विकासलाई आगामी वर्षका प्रमुख प्राथमिकतामा राखेको छ ।
गत शुक्रबार आयोजित १९औँ नगरसभाको अधिवेशनमा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहका कार्यहरूको विस्तृत समीक्षा गरेका थिए। उनले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक बत्ती जडान, करिडोर निर्माण, सार्वजनिक जग्गा संरक्षण, स्मार्ट बत्ती विस्तार, खुला व्यायामशाला, पार्क निर्माण, डिजिटल प्रविधिको प्रयोग, उद्यमशीलता विकास तथा सुशासनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।
नगरप्रमुख अधिकारीले आगामी वर्ष टोखालाई वातावरणमैत्री, स्वच्छ, सफा तथा नागरिकमैत्री नगरका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए। आर्थिक विकासतर्फ उद्यमशीलता विकास, आयमूलक कार्यक्रम, लघु तथा साना उद्योग प्रवद्र्धन तथा सीपमूलक तालिमलाई प्राथमिकता दिइने भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सीप र अनुभवलाई नगर विकासमा उपयोग गरिने नीति पनि लिइएको छ। श्रमको सम्मान गर्दै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ।
कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउने उद्देश्यले कृषि यान्त्रिकीकरणलाई प्रोत्साहन गरिने, किसान सूचीकरण गरिने तथा नगदेबाली उत्पादनमा विशेष जोड दिइने भएको छ। कृषकको हकहित संरक्षण तथा कृषि उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। पर्यटन विकास तथा महिला उद्यमीलाई प्राथमिकता दिने नीति पनि नगरपालिकाले लिएको छ।
सहकारी संस्थालाई थप व्यवस्थित र नियमन गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
शिक्षा क्षेत्रतर्फ शिक्षक दरबन्दी मिलान, समयसापेक्ष शिक्षण प्रणाली विकास, सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता तथा विद्यालयस्तरबाटै खेलकुद विकासलाई प्राथमिकता दिइने भएको छ। निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य कार्यान्वयन गराउने नीति पनि नगरपालिकाले लिएको छ।
स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउँदै नगरभित्रका स्वास्थ्य संस्थाले १० प्रतिशत सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ। ‘मेयर दीर्घायु कार्यक्रम’लाई निरन्तरता दिइने, महिलाको स्तन तथा पाठेघर परीक्षण र उपचारको व्यवस्था गरिने तथा मुटु र मिर्गौलाका बिरामीलाई विशेष प्राथमिकतामा राखिने जनाइएको छ। गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने लक्ष्य पनि नगरपालिकाले लिएको छ ।
लागूऔषध दुव्र्यसन तथा कुलत नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याइने भएको छ। युवालाई दुव्र्यसनबाट जोगाउने र पुनःस्थापनामा सहयोग गर्ने योजनासमेत सार्वजनिक गरिएको छ। एकल महिला, किशोर–किशोरी तथा बालबालिकाको संरक्षण र सशक्तीकरणका लागि विशेष कोष स्थापना गरिने भएको छ ।
नगरपालिकाले आगामी वर्षभित्र टोखालाई सडक मानवमुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ। बालअधिकार संरक्षणलाई थप प्रभावकारी बनाउँदै बालमैत्री नगर घोषणा गर्ने योजना पनि सार्वजनिक गरिएको छ। जेष्ठ नागरिकलाई सम्मान तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
पूर्वाधार विकासतर्फ स्मार्ट बत्ती विस्तार, व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय निर्माण, मेलम्ची तथा वर्षाको पानीको उपयोगमार्फत गुणस्तरीय खानेपानी व्यवस्थापन, नदी–नाला सरसफाइ तथा फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। मुख्य सडक २४सै घण्टा सञ्चालनयोग्य बनाउने, सार्वजनिक स्थानमा डस्टबिन व्यवस्थापन गर्ने तथा शान्ति सुरक्षाका लागि साइरन जडान गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिनुुभयो ।