चितवन । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो निर्वाचनमा प्राप्त गरेको जनादेशलाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्र निर्माण र जनताको हितमा उपयोग गर्नुपर्ने बताएका छन्।
चितवनमा आइतबार आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले महाधिवेशनलाई पार्टीको नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे। उनले रास्वपाले अब स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार रास्वपा अहिले “टर्निङ पोइन्ट” मा पुगेको छ, जहाँ आन्दोलनलाई संगठित राजनीतिक शक्तिमा रूपान्तरण गर्ने चुनौती रहेको छ। उनले रास्वपालाई केवल लोकप्रियता वा व्यक्तिप्रतिको आकर्षणबाट अगाडि बढेर वैचारिक रूपमा स्पष्ट संगठन बन्नुपर्ने सुझाव दिए।
“राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिने हो भन्ने प्रश्न सबैका सामु छ,” ज्ञवालीले भने, “आन्दोलनलाई संगठनमा रूपान्तरण गर्ने र रवि लामिछाने तथा बालेन्द्र शाहप्रतिको आकर्षणबाट बाहिर निस्केर वैचारिक रूपमा स्पष्ट शक्ति बन्नु यो महाधिवेशनको दायित्व हो।”
उनले रास्वपाले छोटो समयमा प्राप्त गरेको असाधारण जनसमर्थनबाट अन्य राजनीतिक दलहरूले पनि सिक्नुपर्ने बताए। विशेषगरी युवाहरूलाई राजनीतिमा आकर्षित गर्ने प्रयास सकारात्मक भएको उनको भनाइ थियो।
ज्ञवालीले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र उत्तरदायी राज्यको अवधारणालाई आत्मसात गर्दै रास्वपा अघि बढ्नुपर्नेमा जोड दिए। राज्य सबै नागरिकका लागि हुनुपर्ने धारणा राख्दै उनले “गरी खाने जनताका लागि पनि राज्य चाहिन्छ” भन्ने सोच आवश्यक रहेको बताए।
उनले लोकतन्त्रलाई बलियो बनाउन प्राप्त जनादेशको सही प्रयोग आवश्यक हुने चेतावनी पनि दिए। जनादेशको गलत उपयोग भए लोकतन्त्रमा जोखिम उत्पन्न हुनसक्ने उनको भनाइ थियो।
भूराजनीतिक सन्तुलनबारे बोल्दै ज्ञवालीले नेपालले भारत र चीनसँग सम्बन्ध राख्दा अत्यन्त सावधानी अपनाउनुपर्ने बताए। राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्दै सन्तुलित कूटनीति आवश्यक रहेको उनको धारणा थियो।
उनले लोकतान्त्रिक संस्था, संसद, न्यायालय र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै लोकतन्त्रका आधारभूत मूल्य कमजोर पार्ने कुनै पनि गतिविधि चुनौतीपूर्ण हुने बताए।
ज्ञवालीले काम गर्ने उत्साह आवश्यक भए पनि सन्तुलन पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै “गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि आवश्यक हुन्छ” भन्ने उदाहरण दिए।
महाधिवेशन सफलताको शुभकामना दिँदै उनले रास्वपाले लोकतन्त्र, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धता व्यवहारमै पुष्टि गर्नुपर्ने र त्यसले देश तथा जनतामा विश्वास जगाउने विश्वास व्यक्त गरे।