काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषदको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोक जिल्ला, चौतारा नगरपालिकाका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धिताललाई नियुक्त गरेको छ ।
लेखा व्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्नका लागि सरकारले धिताललाई सो जिम्मेवारी सुम्पेको हो । अर्थमन्त्रालय स्रोतका अनुसार नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रतिवेदन मान कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव रहेको छ ।
नेपालमा लेखामानको कार्यान्वयन, बैंक वित्तीय संस्थामा वित्तीय प्रतिवेदन मान एवं अपेक्षित कर्जा नोक्सानी व्यवस्था कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेली सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत एवं विशिष्टीकृत बनाउन उनले उल्लेखनीय भूमिका खेलेका छन् ।
धितालले आफ्नो व्यावसायिक यात्रा विश्वको प्रतिष्ठित अग्रणी वित्तीय परामर्शदाता कम्पनीमध्येको एक ‘अन्ट्सर्ट एण्ड यंग’ मुम्बईबाट सुरु गरेका थिए । उनले नेपालका प्रतिष्ठित संस्थाहरू जस्तै नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायतका दर्जनौँ बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण तथा परामर्श सेवाको नेतृत्व गरिसकेका छन् ।
साथै, एसियाली विकास बैंकका विभिन्न परियोजनाहरूमा समेत उनले विभिन्न भूमिका एवं जिम्मेवारीमा कार्य गरिसकेका छन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवको रूपमा रही सफलतापूर्वक आफ्ना जिम्मेवारी पूरा गरिसकेका व्यक्ति हुन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको अनुशासन समिति लगायत विभिन्न समितिमा रहेर कार्य गरिसकेका धिताल हाल परीक्षा समिति सदस्य हुन् । उक्त संस्थामा विभिन्न तहका अध्ययन सामग्री तयारीमा अमूल्य योगदान दिएका धितालले विभिन्न विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूमा संकाय सदस्यका रूपमा समेत योगदान पुर्याउँदै आएका छन् ।
यसअघि पनि उनले लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डमा सल्लाहकारका रूपमा प्राविधिक योगदान दिइसकेका छन् । धितालले नेपाल तथा भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी गरेका छन् । उनीसँग पूर्वाञ्चल विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर, अमेरिकाको संस्थाबाट सूचना प्रणाली लेखापरीक्षक र बेलायतबाट अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानमा डिप्लोमा जस्ता उच्च व्यावसायिक र प्राविधिक योग्यताहरू रहेका छन् ।
नेपालमा वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय परिमार्जन र उत्कृष्ट अभ्याससँग जोड्न र नेपाल वित्तीय प्रतिवेदन मानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन नवनियुक्त अध्यक्ष धितालको प्राविधिक विशेषज्ञता र नेतृत्वले बोर्डलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ । उहाँको विज्ञता र क्षमताको आधारमा नेपाल लेखामान बोर्डको लागि योग्य देखिएकोले नै उनलाई नियुक्ति गरिएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।