नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटको विषयमा जबाफ दिने क्रममा धाकधम्कीको भाषा प्रयोग गरेको भन्दै विरोध गरेका छन् । शुक्रबार संसद् बैठक सुरु हुनासाथ आफ्नो भनाई राख्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अर्थमन्त्रीलाई आफ्नो दलले बजेटको विषयमा शंकाको लाभ दिए पनि वाग्लेले आर्थिक अपराध गरेको आरोप लगाए ।
उनले वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने पनि माग गरे । ‘हिजो संसद्मा जसरी अर्थमन्त्रीले जबाफ दिनुभयो, त्यसले संसद्, समितिको अवमूल्यन भएको छ। धाकधम्की दिने कोसिस उहाँले गर्नु भएको छ, यो खेदजनक छ,’ उनले भने, ‘अर्थमन्त्रीबाट समिति र संसद्को अवमूल्यन भएको छ । धम्काउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ। उहाँले सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो। यो आर्थिक अपराध हो । उल्टै धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ। यसले संसद्को मानहानी भएको छ । सभामुखबाट रुलिङ हुनुपर्छ। उहाँमाथि संसदीय छानबिन गरिनुपर्छ ।’
उनले बजेटको विषयमा सांसदले उठाएका विषय आरोप मात्रै नहुने बताए । हिजो आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्ष्यित गर्दै ‘तपाईंहरूको काण्डबारे पनि अनभिज्ञ छैनन्, ती पनि खुल्नेछन्’ भनेका थिए । नेकपाका नेता पुनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बोलेको विषयमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण पर्याप्त नभएको बताए। ‘यस विषयमा प्रधानमन्त्रीले नै संसद्लाई जबाफ दिनुपर्छ, संसद्को अभिलेखबाट उहाँको भनाई हट्नुपर्छ,’ पुनले भने ।