नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ ।
लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी र मधेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी प्रदेश तथा बागमती र गण्डकीका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै मधेश, बागमती र गण्डकीका तराई क्षेत्र तथा देशका हिमाली भूभागका एक/दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।