काठमाडौं । मलेसियामा जारी महिला क्रिकेट एसियाली खेलकुद छनोटमा नेपाली टोली इन्डोनेसियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली टोली लगातार दोस्रो जित निकाल्दै अन्तिम चार तथा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले आज इन्डोनेसियालाई ४ विकेटले हरायो । नेपाल समूह ‘बी’ को विजेता बनेको छ ।
जितका लागि ११४ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेटको क्षेतिमा पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्का १ रनमा, पूजा महतो ९ रनमा र रुबी पोद्दार रनको खाता नखोली आउट भए । २० रन जोड्दा नेपालले ३ विकेट गुमाइसकेको थियो ।
त्यसपछि कप्तान इन्दुले सुझबुझपूर्ण ब्याटिङ गरिन् । उनले ४३ बल खेल्दै ५ चौकासहित अविजित ४२ रन जोडेर नेपाललाई जिततर्फ लगिन् । कविता कुँवरले १४ रन बनाउँदा सीता राना मगर अविजित १३ रनमा रहिन् । बलिङमा नी मेडे र नी एरियानीले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । ओपनर काडेक विनमडा गोल्डेन डक आउट हुँदा अर्की ओपनर राहावटी पाङगेस्टुटी १ रनमा आउट भइन् । २ रन जोड्दा २ ओपनर गुमाएपछि नी लु डिवी र नी पुटु आयुले तेस्रो विकेटको लागि ६५ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।
यो साझेदारीलाई मनिषा उपाध्यायले तोडिन् । नी लु २३ रनमा एलबीडब्लु आउट भइन् । नी मेडे १३ रनमा आउट हुँदा नी पुटु भने क्रिजमा जमिन् । अर्धशतक बनाएकी उनी ६२ बल खेल्दै ३ चौकाको मद्दतमा अविजित ५६ रनमा क्रिजमा रहिन् । बलिङमा मनिषा उपाध्यायले ४ ओभरमा ९ रन मात्र दिएर २ विकेट लिइन् । रिया शर्माले १ विकेट झारिन् । यसअघि नेपालले हिजो बुधबार चीनलाई १९ रनले हराएको थियो ।
लगातारको दोस्रो जितमा ४ अंकसहित सेमिफाइनलमा पुगेको नेपालले समुक ‘ए’ को उप विजेता मलेसियासँग सेमिफाइनल खेल्ने छ । अर्को सेमिफाइनल थाइल्याण्ड र चीन भिड्नेछन् । हङकङ र इन्डोनेसिया समूह चरणबाट बाहिरिंदा एसियन गेम्स छनोट हुन असफल रहे । अब सेमिफाइनलमा पुगेका ४ मध्ये ३ राष्ट्रले जापानमा हुने एसियन खेलकुदमा स्थान बनाउने छन् ।