सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट जीपीए (GPA) हासिल गर्ने जिल्लाभरिका विद्यार्थीहरू सम्मानित भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा संयुक्त रूपमा आयोजित 'एसइई २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम' भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो ।
कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य एवं शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । त्यसैगरी, कार्यक्रमको विशेष अतिथिका रूपमा राष्ट्रिय समिति सदस्य मैया पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पालिकागत तथा जिल्लागत रूपमा उत्कृष्ट जीपीए प्राप्त गरेका विभिन्न विद्यालयका १६ जना विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो । उत्कृष्ट अंक ल्याएर जिल्लाकै नाम रोशन गर्ने ती विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप नगद सहित मेडल, सम्मानपत्र, खादा र बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमल्सिनाले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताइन् । त्यसैगरी, नेपाल शिक्षक महासंघका उपाध्यक्ष नमराज नेपालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, सिर्जनशीलता र नैतिक शिक्षातर्फ अग्रसर हुन प्रेरणा दिए ।
अभिभावकको तर्फबाट बोल्दै डम्बर रसिक भारतीले विद्यार्थीहरूको सफलतामा अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गरे । उनले आगामी दिनमा पनि बालबालिकाहरूलाई घरमा सकारात्मक र पढ्न अनुकूल वातावरण दिनुपर्ने आवश्यकतामाथि जोड दिए ।
सम्मानित विद्यार्थीहरूको तर्फबाट बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरकी छात्रा अनिषा पराजुलीले मन्तव्य राखेकी थिइन् । उनले आफ्नो सफलताको लागि शिक्षक, अभिभावक तथा विद्यालयप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको सफलतामा परिवार, शिक्षक र समाजको संयुक्त योगदान रहने धारणा व्यक्त गरिन् ।
लेखनाथ भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना आदानप्रदान, सम्मान वितरण तथा धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो । कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधि, स्थानीय तहका अध्यक्षहरू, पत्रकार तथा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरेका थिए ।