काठमाडौँ । गणतन्त्र दिवस २०८३ को पावन अवसर पारेर आगामी जेठ १५ गते शुक्रबारका दिन काठमाडौंको चाबहिलमा एक बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । 'सेभ अ लाइफ, गिभ ब्लड' (Save a life, Give Blood) भन्ने मानवीय भावनाका साथ हुन लागिरहेको यस परोपकारी कार्यक्रमको संयोजन नेकपा (एमाले) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले गरेको हो ।
आयोजक कमिटीका अनुसार यो विशेष रक्तदान कार्यक्रम चाबहिलस्थित ऐतिहासिक चाबहिल स्तुपा परिसरमा संचालन हुनेछ । जेठ १५ गते गणतन्त्र दिवसका दिन बिहान १०:०० बजेदेखि सुरु हुने कार्यक्रम दिउँसो २:०० बजेसम्म जारी रहने जानकारी प्राप्त भएको छ । अस्पतालहरूमा भइरहने रगतको अभावलाई मध्यनजर गर्दै मानवीय सेवामा सघाउ पुर्याउने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो ।
नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई रचनात्मक र सेवामूलक कार्यका साथ मनाउन लागिएको भन्दै आयोजकले यसमा व्यापक जनसहभागिताको अपेक्षा राखेको छ । कमिटीले काठमाडौंमा बसोबास गर्ने सिन्धुपाल्चोकवासी दाजुभाइ दिदीबहिनीहरू, एमालेका नेता, कार्यकर्ता, युवा, विद्यार्थी तथा आम सर्वसाधारण सबैलाई उक्त दिन चाबहिल स्तुपा परिसरमा उपस्थित भई रक्तदान गर्न र यस जीवनरक्षक अभियानलाई सफल बनाउन हार्दिक अपिल गरेको छ ।