काठमाडौँ । नेपाली कलाकारिता क्षेत्र पछिल्लो समय सिर्जना र साधनाभन्दा पनि ‘भाइरल’ हुने होडबाजीमा फसेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । विशेष गरी सामाजिक सञ्जालमा देखिने क्षणिक र सस्तो लोकप्रियताले नेपाली कलाको मौलिकता र सामाजिक मर्यादालाई नै दूषित बनाउँदै लगेको विश्लेषण गर्न थालिएको छ ।
गायक टंक डुम्रेले नेपाली कला क्षेत्र अहिले क्षमताभन्दा पनि ‘भाइरल’ प्रवृत्तितर्फ सोझिएको बताए । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुको साटो अवसर दिएर अगाडि सार्नु र सामाजिक रूपमा बहिष्कार गर्न नसक्नु नै मुख्य समस्या देखिएको उनी बताउँछन् ।
उनले भने, 'अचम्मको कुरा त के छ भने, यस क्षेत्रमा नाम चलेका र स्थापित कलाकारहरूले नै एउटा ‘टिकटक’ वा ‘सेयर’को लोभमा उरन्ठ्याउला भाइरल पात्रहरूलाई काखी च्याप्ने गरेका छन् । आफ्ना गीत तथा सिर्जनाहरूलाई बिकाउनका लागि अग्रजहरूले समेत मौलिकता र सामाजिक मर्यादालाई ओझेलमा पारेर त्यस्ता पात्रहरूलाई छनोट गर्दा वास्तविक कलाकारहरू ओझेलमा परेका छन् ।'
नेपाली कलाकारहरूको मुख्य आम्दानीको स्रोत मानिने मेला-महोत्सवहरूमा समेत अहिले विकृति भित्रिएको छ । साधना र कला भएका कलाकारभन्दा पनि सामाजिक सञ्जालमा चर्चामा आएका क्षमताविहीन ‘भाइरल’ पात्रहरूले प्राथमिकता पाउन थालेका छन् । यसले गर्दा लामो समयदेखि यसै क्षेत्रमा लागेर योगदान दिने तमाम कलाकारहरू एउटै खाडलमा पर्न बाध्य भएको गायक डुम्रेको तर्क छ ।
कलाकारितामा हुनुपर्ने पेसागत मर्यादा र आचरणको उचित सम्मान हुन सकेको छैन । अग्रज र नयाँ पुस्ताबीच समन्वयको ठूलो खाडल देखिएको छ । "अग्रजहरूले नयाँका राम्रा सिर्जनालाई प्रोत्साहन वा सेयर समेत गर्दैनन्, बरु समकालीनहरूबीच स्वस्थ प्रतिस्पर्धाको सट्टा इर्ष्याको भावना बढेको छ," डुम्रे भन्छन् ।
नेपाली कला क्षेत्रलाई मर्यादित बनाउन नकारात्मक कुरा र पात्रहरूलाई तत्काल बहिष्कार गर्ने नैतिक साहस सबैले देखाउनुपर्ने आवश्यकता रहेकाे उनले बताए । भाइरल वादको अन्त्य गरी मौलिकता र सिर्जनालाई नै कलाकारिताको मूल आधार बनाउनु आजको मुख्य चुनौती बनेको उनकाे भनाइ छ ।