काठमाडौँ । नेकपा एमालेका नेता महेश वर्तौलाले संसदीय रेकर्डबाट अभिव्यक्ति हटाउने सभामुखको रुलिङप्रति आपत्ति जनाउँदै यसले संसद्को लोकतान्त्रिक चरित्र र प्रतिपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले व्यक्त गरेका भनाइलाई संसद्को रेकर्डबाट हटाउन सभामुखले दिएको निर्देशन ‘बिल्कुल चयनमुखी’ देखिएको वर्तौलाको आरोप छ ।
नेता वर्तौलाले प्रतिपक्षले सत्ता र सरकारका कमजोरीमाथि कठोर प्रश्न उठाउनु उसको दायित्व भएको उल्लेख गरे । उनले भने, "यदि प्रतिपक्षका सांसदहरूले बोलेका विषयहरू राजनीतिक दबाब वा सत्ताको चाहनाअनुसार हटाइने हो भने संसद् खुला बहसको थलो नरहेर नियन्त्रणको संरचनातर्फ धकेलिने खतरा पैदा हुन्छ ।"
सांसदको कुन शब्द, वाक्य वा अभिव्यक्ति असंसदीय हो भन्ने कुरा सभामुखले स्पष्ट पार्नुपर्नेमा आजको रुलिङमा पर्याप्त स्पष्टता नदेखिएको उनले दाबी गरे ।
वर्तौलाले सभामुखको भूमिका साझा र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै हालको प्रवृत्तिले संसद्को गरिमामा असर पुर्याएको बताए । "प्रधानमन्त्रीको व्यवहार र अटेरीप्रति कठोरता नदेखाउने तर प्रतिपक्षका सांसदहरूको अभिव्यक्तिमाथि तत्काल रुलिङ गर्ने प्रवृत्तिले सभामुखप्रतिको विश्वास कमजोर बनाएको छ," उनले भने ।
संसद् संवाद, असहमति र आलोचनाको साझा मञ्च हुनुपर्ने भन्दै यसलाई नियन्त्रणको माध्यम बनाइए संसदीय मामिलामा द्वन्द्व र अविश्वास झन् गहिरिने उनको चेतावनी छ । लोकतन्त्रको स्वास्थ्यका लागि सरकारको कामकारबाहीप्रति खबरदारी गर्ने आवाजलाई स्थान दिन र नियमावलीको निष्पक्ष प्रयोग गर्न उनले सभामुखको ध्यानाकर्षण समेत गराएका छन् ।