काठमाडौं । अखिल नेपाल सुकुम्बासी संघले पूर्वपश्चिम राजमार्ग ५ घण्टाका लागि चक्का जामको घोषणा गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि वैशाख ३१ गते विहान ५ बजेदेखि १० बजेसम्मको लागि चक्का जामको घोषणा गरेको जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले भोलि ५ घण्टाका लागि घोषित चक्का जाम कार्यक्रममा सबैलाई सहयोग गर्न अपिल गरेका छन् । चक्का जाम कार्यक्रम आफ्नो संगठनले आयोजना गरे पनि देशभरका सुकुम्बासीको अधिकारका लागि भएकोले कुनैपर्टी वा संगठन विशेषको नठानी सहभागि हुन आग्रह गरे।
‘चक्का जामले देशभरका सुकुम्वासीको एकताको सन्देश दिन जरुरी छ, जुन अधिकारको कोषेढुङ्गा सावित हुने विश्वास छ’ खड्काले भने । ‘सरकारी अनधिकृत डोजर आतंकले आत्महत्या गर्न बाध्यदेखि अरबौं बराबर सम्पत्तिको क्षति गराएको छ, जसको प्रतिवाद गर्न जरुरी छ,’ खड्काको कथन छ ।
संघका अध्यक्ष अमर परियारले आफूहरुले गरेको चक्काजामलाई सबैले सहयोग गर्न अपिल गरेका छन् ।
‘यातायता व्यवसायी, सेना–प्रहरी, सिडियो सबैलाई अनुरोध गर्न चाहन्छु, यो गरिव जनताको अधिकारको लागि प्रारम्भिक संघर्ष यो यसमा सहयोग गर्न अपिल गर्दछु’ परियारले भने । परियारले सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरमा नभएर उनिहरुलाई जमिनको व्यवस्थापन गर्न माग गरेका छन् ।
संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले वर्तमान सरकारले नागरिकको आवास अधिकारको संवैधानीक व्यवस्था र सर्बोच्च अदालतको अदेशको अवज्ञा गरेको भन्दै आक्रोश व्यक्त गरे । बालेन शाह जनताको अभिभावकभन्दा पनि तानशाहा भएको आरोपसमेत लागाएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल सुकुम्बासी तथा अव्यबस्थित बसोवासी संघका अध्यक्ष राजकुमार पाण्डेले अखिल नेपाल सुकुम्बासी संघले घोषणा गरेको चक्का जाममा ऐक्यबद्धता जनाए । ‘हामी ७७ वटै जिल्लाका सदस्यहरुलाई सुकुम्बासी संघर्षमा उत्रन आह्वान गर्दछु’, पाण्डेले भने ।
जसपा निकट सुकुम्बासी संघका अध्यक्ष तथा संयुक्त सुकुम्बासी मोर्चाका महासचिव अर्जुन कुवरले पनि जक्का जाममा ऐक्यबद्धता जनाए । कवरले विन व्यवस्थापन तथा विकल्प विना गरिएको सुकुमबासीमाथि डोजर गलत भएको बताए । कुवरले भोलि गरिने चक्का जाममा सबैलाई सघाउन अपिल पनि गरे ।
अखिल नेपाल सुकुम्बासी संघका उपाध्यक्ष लिला मोक्तानले चक्का जाम रहर नभएर नागरिकको अधिकारको विषय भएकाले सबैलाई साथ दिन आग्रह गरेका छन् ।
संघका महासचिव प्रकाश खरेलले आफूहरुले पूर्वपश्चिम राजमर्ग चक्का जाम र भोलि नै माइतिघर मण्डलामा संयुक्त प्रदर्शन कार्यक्रममा सबैलाई आउन अह्वान गरेका छन् ।