काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धानका लागि उनलाई सिन्धुलीबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा अनुसन्धानका लागि पाण्डेलाई नियन्त्रणमा लिइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सिन्धुलीबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पाण्डेले प्रयोग गर्दै आएको मोबाइल फोन बन्द गरी भाग्ने प्रयास गरिरहेका बेला जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा उनलाई पक्राउ गरिएको हो । उनलाई मंगलबार राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रस्थित मदन भण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र लिएर सेवा सञ्चालन गर्दै आएको थियो । तर नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ अनुसार २०८० वैशाख ३ गतेदेखि कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
अनुमतिपत्र रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उक्त सम्पत्तिसम्बन्धी लिलामी प्रक्रियामा नेपाल सरकारको हकहितमा असर पुग्ने गरी बेइमानीपूर्वक कार्य गरिएको आरोप लगाएको छ । यही प्रकरणमा लोन रिकभरी कमिटी (एलआरसी) का अध्यक्षसमेत रहेका पाण्डेमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२ असोज ३ गते स्मार्ट टेलिकमसम्बन्धी सम्पत्ति लिलामीका लागि सूचना प्रकाशित गरेको थियो । उक्त सूचनामा दूरसञ्चार उपकरण जडान भएका घर–जग्गाका घरधनीलाई बुझाउनुपर्ने बाँकी घरबहाल तथा विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँसमेत बोलपत्रमार्फत एकमुष्ट कबोल गर्नुपर्ने उल्लेख गरिएको थियो ।
तर उक्त रकम बैंकले उठाए पनि हालसम्म सम्बन्धित घरधनीलाई घरबहाल तथा विद्युत् महसुल नतिरेको आरोपसमेत लागेको छ । यही विषयलाई लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्मार्ट टेलिकमले दूरसञ्चार सेवा सञ्चालन अनुमति नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि कम्पनीको लाइसेन्स स्वतः रद्द भएको थियो । त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
यसअघि यही प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पनि पक्राउ परिसकेका छन्। सिआइबीको टोलीले उनलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।