निर्मला शर्मा, अध्यक्ष- नेपाल पत्रकार महासंघ
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म नेपालका सम्पूर्ण श्रमजीवी पत्रकार, व्यावसायिक सञ्चारगृहहरू तथा विचार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितमा अविचलित रूपमा लड्न प्रेरणा दिनेछ । आगामी दिनमा पनि नागरिकको बोल्न पाउने अधिकारका पक्षमा महासंघ अनवरत रूपमा सक्रिय रहने प्रतिवद्धता पुनः व्यक्त गर्दछु ।
इतिहासदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अंग, तह वा अरू कुनै संगठित र असंगठित क्षेत्रबाट संकुचन वा नियन्त्रण गर्ने प्रयास भएमा हामीले सशक्त प्रतिवाद गर्दै आएका छौं । अब पनि त्यस्तो प्रतिवाद गर्नुपर्ने अवस्था आइलाग्छ भन्नेमा महासंघ स्पष्ट छ । लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि मुलुकमा प्रेस स्वतन्त्रता हननका घटनाहरू बढ्दो क्रममा रहेको देखिनु हाम्रा लागि गम्भीर चिन्ताको विषय हो ।
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रमको सुरुवात सन् १९९१ मा नामिबियाको विन्डहोकमा आयोजित युनेस्कोको सेमिनारबाट भएको हो । उक्त सेमिनारले ‘विन्डहोक घोषणापत्र’ जारी गरेको थियो । यही घोषणापत्रको स्मरण गर्दै सन् १९९३ मा संयुक्त राष्ट्रसंघको महासभाले युनेस्कोको सिफारिसमा मे ३ लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो । त्यसयता, हरेक वर्ष मे ३ का दिन प्रेस स्वतन्त्रताको रक्षा र प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस विश्वभर मनाउने गरिन्छ ।
यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवद्र्धन’ रहेको छ । युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा मे ४ र ५ का दिन विभिन्न कार्यक्रम गरी मनाउदै छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले ४ मे देखि ७ मे सम्म पेरिसमा हुने महाधिवेशनमा विश्वका पत्रकारहरु सहभागी हुने सम्मेलनमा यो दिवस मनाउदै छ ।
महासंघले पनि लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाको क्षेत्रमा सक्रिय विभिन्न पेशागत संगठनको सहभागितामा माइतीघर मण्डलाबाट र्याली आयोजना गर्दैछ । पछिल्लो समय सरकारले गरेको सरकारी विज्ञापनमा विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापनको संकुचन र अभिव्यक्ति स्वतन्त्रता माथिकै अंकुशका प्रक्रियाहरू हुन भन्ने महासंघको बुझाइ छ ।
महासंघ सञ्चार अनुगमन इकाईले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म संकलन गरेको विवरणमा यो वर्ष १ सय ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष ७३ वटा यस्ता घटना भएका थिए । योभन्दा अघिल्लो वर्ष ६२ वटा थिए । तुलनात्मक विश्लेषण गर्दा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको तथ्याङ्कहरूले देखाउछन् ।
पछिल्लो एक वर्षका १ सय १३१ वटा प्रेस स्वतन्त्रतता हननका घटनामा पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१ वटा घटना छन् । त्यसैगरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणका ३० वटा घटना छन् । पेशागत असुरक्षा १८ र कब्जा तथा अवरोधका २६ वटा घटना रहेका छन् । नीतिगत बन्देज ३ वटा, पत्रकार पक्राउ २ जना र १ जना पत्रकारको शंकास्पद मृत्यु भएको अभिलेखबाट देखिन्छ ।
२०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना हुँदा एकसय भन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए । २३ गतेको आन्दोलन र २४ गतेको हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो ।
उक्त घटनामा संस्थागततर्फ करिव ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिव १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलस्थित रेडियो जागरण, इलाममा नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवनका विभिन्न सञ्चारगृह, सप्तरीमा महासंघ शाखा कार्यालयसहितका सञ्चारगृहमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको थियो ।
नीतिगत रूपमा गएको वर्ष पनि प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भएको छ । महासंघको विरोधका बाबजुद संघीय संसद्मा मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत विभिन्न सञ्चारसम्बन्धी विधेयकहरू समितिहरूमा छलफलमा थिए ।
तर, अकस्मात भएको जेनजी विद्रोह र त्यसपछिको राजनीतिक परिवर्तनले संघीय संसद् नै विघटन भयो । त्यसपछि बनेको अन्तरिम सरकारले ल्याएको छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावलीका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामा असर पार्ने खालका देखिएका छन् ।
समग्रमा यो वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना वृद्धि हुनुका साथै कानुन र नीतिगत सुधारमा निष्क्रियता देखियो । पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको महासंघको ठहर छ ।
अतः सञ्चार क्षेत्रको आर्थिक संकट समाधान, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु महासंघका सामु चुनौती छन् । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । तर, यो सरकारले पनि संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र लोकतान्त्रिक संस्कृतिको सरक्षण गर्छ भन्नेमा महासंघ सशंकित छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघ सम्पूर्ण सञ्चाकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा पुन एक पटक शुभकामना व्यक्त गर्दछ । तसर्थ प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको अहिलेको अवस्थमा मुलुकका विभिन्न पेसागत संगठन र नागरिक अगुवाहरूसँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ ऐक्यवद्धताको अपेक्षा गर्दछ ।
(विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०२६) को अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश)