काठमाडौँ । केन्द्रीय सदस्यसहितका युवा नेताहरूले पार्टीकाे केन्द्रीय कमिटी विघटनको प्रस्ताव गरेका छन् । काठमाडौंमा पुनर्जागरण भेला गरेर युवा नेताहरूले एमालेभित्र अध्यक्ष ओलीलाई सम्मानजनक बर्हिगमन गराउनका लागि केन्द्रीय कमिटी विघटनको प्रस्ताव गरेका हुन् । मीनभवनमा शनिबार दिउँसो केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहितको उपस्थिति रहेकाे थियाे ।
उनीहरूले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने विषयमा छलफल र बहस चलाएका हुन् । पछिल्लो पटक विद्या भण्डारी समूहसँग एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल निकटका नेताहरु पनि अध्यक्ष केपी ओलीलाई सम्मानजनक बहिर्गमन गराउने पक्षमा उभिएपछि शनिवार आयोजित भेलालाई अर्थपुर्ण मानिएको छ ।

भेलामा पूर्वकेन्द्रीय सदस्यहरू नवीना लामा, रमेश पौडेल, अनेरास्ववियू पूर्वअध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया, युवा संघ उपमहसचिव उपेन्द्र शाही, अनेरास्ववियु उपमहासचिव कमल जोशी सहभागी थिए ।
एमालेका युवा नेताहरु रोशन बस्नेत, किरण देउजा लगायतका नेताहरुले अहिलेको नेतृत्वले युवाहरुको मागलाई सम्बोधन गर्न नसक्ने भन्दै केन्द्रीय कमिटीको विघटनको प्रस्ताव गरेका थिए । बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया पुर्नजागरणबारे कार्यपत्र नै प्रस्तुत गरेका थिए । त्यसैगरी पर्यटन व्यवशायी राजेन्द्र सापकोटा पनि अहिलेको नेतृत्वले जनताको भावानालाई बुझ्न नसकेको धारणा राखेका थिए । यसअघि केही सदस्यले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसमेत संकलन गरेका थिए ।
