काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सडक आश्रित नागरिकहरूको उद्धार र पुनर्स्थापनालाई तीव्र र प्रभावकारी बनाउन कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ । महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गाेलले सडकमा सहयोग आवश्यक परेका व्यक्तिबारे ०१-५९७९८८२ मा सम्पर्क गरी जानकारी दिन आग्रह गरेकी छिन् ।
महानगरपालिकाका कार्यवाहक मेयर डङ्गोलले सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकप्रति राज्य र समाज दुवैको संवेदनशीलता आवश्यक रहेको बताइन् । ‘सडकहरूमा अझै पनि कयौँ आमा–बुबा, दिदीबहिनी र दाजुभाइ विभिन्न कारणले खुला आकाशमुनि जीवन बिताउन बाध्य छन्’, उनले भनिन्, ‘तर सबैले सुरक्षित घर, सम्मान र मर्यादित जीवन पाउनुपर्छ ।’
उनका अनुसार परिवारबाट टाढिएका, मानसिक स्वास्थ्य समस्या भोगिरहेका, घरेलु हिंसा वा आर्थिक अभावका कारण सडकमा पुगेका नागरिकलाई लक्षित गर्दै महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार तथा पुनर्स्थापनाको काम अघि बढाइरहेको छ ।
‘अब यो अभियानलाई अझ छिटो र प्रभावकारी बनाउन कल सेन्टर सञ्चालनमा ल्याएका छौँ’, डङ्गोलले भनिन्, ‘यदि तपाईंले कसैलाई सडकमा सहयोग आवश्यक परेको देख्नुभयो भने फोन गर्नुहोस्, तपाईंको एउटा फोनले कसैको जीवन परिवर्तन हुन सक्छ ।’
उनले सबै नागरिकलाई मानवीय संवेदनासहित यस अभियानमा साथ दिन आह्वान गर्दै सडक आश्रितलाई सुरक्षित जीवनतर्फ ल्याउने अभियानलाई साझा जिम्मेवारीका रूपमा लिन आग्रह गरेकी छिन् ।