काठमाडौं । काठमाडौंमा मासिक ‘कला संवाद’ कार्यक्रमअन्तर्गत दिवंगत गायिका आशा भोसलेलाई स्मरण गरिएको छ । नेपालस्थित भारतीय दूतावासले भोसलेको सांगीतिक योगदानलाई स्मरण गर्दै विशेष सांगीतिक साँझ आयोजना गरेको हो ।
भारतीय दूतावासको आयोजनामा सम्पन्न कार्यक्रममा आशा भोसलेले भारतीय तथा नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली ब्यान्ड ‘सुर–सुधा’ र आईसीसीआर नेपालका संगीत शिक्षकहरूले आशा भोसलेका चर्चित गीतहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठित नेपाली संगीतकर्मी, सांस्कृतिक व्यक्तित्व तथा संगीतप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भारतीय दूतावासले ‘कला संवाद’ कार्यक्रममार्फत् नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको जनाएको छ ।